काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा सीपयुक्त कामदार पठाउने कार्यविधि सार्वजनिक गरेको छ। श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जापानसँग सन् २०१९ को मार्चमा भएको मेमोरेण्डम अफ कोअपरेशन अन्तर्गत गत माघ २५ गते स्वीकृत गरेको कार्यविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।
सार्वजनिक कार्यविधिअनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपाली म्यानपावर कम्पनीहरूले रोजगारदाताहरूबाट सेवा शुल्क लिएर निःशुल्करुपमा कामदार पठाउनुपर्ने छ। नेपाली कामदारको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणका लागि जापानी पक्षलाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागअन्तर्गत एकै इकाई रहने व्यवस्था छ।
कार्यविधिअनुसार एसएसडब्ल्यू प्रणालीअन्तर्गतको मानक पूरा गरेका म्यानपावर कम्पनीहरूले कामदार पठाउन पाउनेछन्। यस्तै भाषा र सीपका लागि प्रचलित मानकअनुसार आफ्नो स्वामित्वको तालिम केन्द्र वा पूर्णकालिक रुपमा उपयोग गर्न सकिने गरी करार सम्झौता गरिएको तालिम केन्द्र हुनुपर्ने प्रावधान छ। तालिम केन्द्रमा जापानी भाषा पढाउन सक्ने तालिम तथा प्रमाणपत्र प्राप्त कम्तीमा दुई जना भाषा प्रशिक्षक, नेपाली कामदारको माग प्रमाणिकरण र अन्य कल्याणकारी कार्य गर्न जापानमा दर्ता शाखा कार्यालय वा यससम्बन्धी काम गर्न अनुमतिपत्र पाएको रजिष्टर्ड सपोर्ट अर्गनाइजेसनसँग नेपाली कामदारसँग कुनै शुल्क नलिने सम्झौता गरेको हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ।
भाषा तथा सीप प्रदान गर्न जापानी रोजगारदाताले नेपालमै आएर तालिम लिने वा जापानी भाषा वा विशिष्टिकृत सीप तालिम केन्द्र पूर्णकालीन रुपमा प्रयोग गर्ने सम्झौता गरेको हुनुपर्ने प्रावधान पनि कार्यविधिमा छ।
0 Comments