Hot Posts

6/recent/ticker-posts

काठमाडौँ — बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव स्वीकृत



 काठमाडौँ — बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ। मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो।

बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिए। ‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ,’ उनले भने। ‘एनटीपी विद्युत् व्यापार निगम (एनभीभीएन), नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरु हुनेछ।’

बंगलादेशका सञ्चारमाध्यमका अनुसार प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिनेछ। भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने सचिव खानले बताएका छन्। भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइनसकेको उनले जनाए।

विद्युत् आयातका लागि नेपाल र बंगलादेशबीच हुने सम्झौताको मिति तय भइसकेको छैन। सचिव खानले प्रधानमन्त्री शेख हसिनाको सम्भावित नेपाल भ्रमणको क्रममा विद्युत् आयात सम्झौता हुन सक्ने बताएका छन्, यद्यपि हसिनाको भ्रमणका बारेमा केही तय भएको छैन।

नेपाल विद्युत् प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरेको थियो, तर बंगलादेशबाट जुन ११ मा बल्ल ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत भएको छ। बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। त्यसैअनुसार बंगलादेशले नेपाललाई पत्र पठाएर मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाएको थियो। प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस गरेको थियो।

प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो। वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन। त्यसपछि विश्व बैंकको आयोजनामा गत फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको थियो। तत्कालीन ऊर्जा सचिव गोपाल सिग्देलले भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली दिने गरी मूल्यमा सहमति भएको बताएका थिए। नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ।

Post a Comment

0 Comments